काठमाडौं, ४ असार
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बजेट संशोधन नभए पास हुन नदिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा राउतले सांसदहरूका माग सम्बोधन हुने गरी बजेट सशोधन नभए सत्तापक्षकै सांसदले नै बजेट पास हुन दिन नहुने चेतावनी दिएका हुन् ।
उनले पूर्वाधार विकास समितिलाई बजेट संशोधनको प्रस्ताव लैजान सुझाव पनि दिए ।एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरूको आवश्यकता नरहेको भन्दै उनले निर्वाचित भएर आएका सांसदहरूको मत सरकारले सुन्नुपर्ने बताए ।
“मन्त्री पद सदाबहार शासक होइन । मन्त्री बन्दैमा अंहकार देखाउनुपर्छ भन्ने पनि होइन । एकजनाले बजेट निर्माण गर्ने भए यति धेरै सांसदहरू किन आवश्यक पर्ने थियो । एक जनाले बनाउन नसक्ने भएर नै विभिन्न क्षेत्रबाट जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छौँ । त्यसैले मन्त्रालयले सांसदहरूको कुरा सुनिदिनुपर्छ । बजेट विनियोजनमा पनि सांसदहरूको माग सुनिदिनुपर्छ,” राउतले भने ।









