काठमाडाैं जेठ ३०,
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलोग्राम सुन हिनामिना भएको भन्ने आरोपको खण्डन गरेको छ ।
मंगलवार संघीय संसद् राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले मन्दिरमा चढाइएको जलहरीमा तोकिएबमोजिम नै सुन रहेको दाबी गरेका हुन् ।
उनले जलहरीमा १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । आफूले पटक–पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँँसु नै झारे ।
उनले ‘न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनी सांसदहरूलाई प्रतिप्रश्न समेत गरे ।
‘नेपाल राष्ट्र बैंकले सम्झौताअनुसार दिएको १०३ केजी सुन लिएर आएका हौं । त्यो १० किलो सुन पनि शिवले पहिरिएर राख्नुभएको छ । जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो,’ उनले भने, ‘यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । यो सुनको जलहरीमा मैले न्याय माग्न के आत्महत्या गर्नुपर्ने हो ? मलाई पशुपतिको भेटी तलमाथि गरेर, जग्गा-जमिन बेचेर खानु छैन । खाँदिनँ ।’
आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको भन्दै उनले दुखेसो पोखे ।
सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए ।









