काठमाडौं बैशाख २०
दार्चुलाको ब्याँस गाउँपालिका–१, बोलिनमा गएको हिमपहिरोमा बेपत्ता भएकाको खोजी कार्य आज बिहानैबाट हुने भनिए पनि उद्धार टोली त्यसतर्फ जान सकेको छैन । हिमपात भइरहेका कारण उद्धार टोली घटनास्थलतर्फ जान नसकेको हो ।
हिमपात रोकिएपछि मात्रै उद्धार टोली घटनास्थल जाने दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । “अहिले हिमपात भइरहेको छ । त्यसैले उद्धार टोली थप उद्धारका लागि जान सकेको छैन,” जोशीले भनिन्, “हिमपात रोकिनबित्तिकै उद्धार टोली त्यसतर्फ जानेछ ।”
हिमपात भइरहेका बेला उद्धार टोली पठाउँदा सोही टोलीलाई नै समस्या हुन सक्नेतर्फ पनि ध्यान दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । २९ जनाको उद्धार टोली हिमपात रोकिएपछि घटनास्थल जान तयारी अवस्थामा रहेको उनले जानकारी दिइन् ।
हिजो उद्धारका लागि गएको टोली अँध्यारो भएपछि साँझ फर्किएको थियो । हिमपहिरोमा परेर हराएका सातजना सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार उनीहरु सम्पर्कमा आएका हुन् । ब्याँस गाउँपालिका १ बोलिनमा यार्चा गुम्बा टिप्न गएको बेला उनीहरू हिमपहिरोमा फसेका थिए ।
अझै पाँचजना बेपत्ता छन् । प्रजिअ जोशीले भनिन्, “चारजना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् । उनीहरू हिमपहिरोमा पुरिएको आशंका छ । टेन्टमै बसेकाले पुरिए भन्नेछ ।”










