काठमाडौं बैशाख १५
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको धक्का ठूलै महसूस भए पनि हालसम्म क्षतिको खबर भने नआएको बताएका छन् ।
“हामीले भौतिक तथा मानवीय क्षतिबारे जानकारी लिन प्रहरी परिचालन गरेका छौं,” प्रमुख जिल्ला अधिकारी खड्काले बाह्रखरीसँग भने, “तर, अहिलेसम्म हामीले मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त गरेका छैनौं ।”
बाजुरामा गएराति दुई वटा भूकम्प गएको छ । गएराति ११ः५८ र १ः३० बजे दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ११ः५८ बजे ४.९ म्याग्निच्युडको र १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको थियो ।









