काठमाडाैं बैशाख ११,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाजमा चरा ठोक्किन पुगेको फ्लाइ दुबईले दाबी गरेको छ । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति दुबई मिडिया अफिसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने बित्तिकै चरा ठोक्किएको बताएका हुन् ।
‘काठमाडौँ विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा चरा ठोकिन पुगेको छ’, दुबई मिडिया अफिसले प्रवक्ताको भनाइ ट्वीटरमा उल्लेख गरेको छ, ‘आवश्यक प्रक्रियापछि उडान दुबईको लागि सामान्य रूपमा जारी रहेको छ । स्थानीय समय अनुसार ००ः१४ मा जहाज अवतरण गर्ने तालिका छ।’ जहाजमा चरा ठोक्किएको बारे नेपाली अधिकारीले भने केही बताएका छैनन् ।
जहाजमा आगोको झिल्का देखिनुका साथै आवाज समेत आएपछि त्रिभुवन विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो भने आकस्मिक अवतरणका लागि आवश्यक तयारी समेत गरिएको थियो ।
पछि जहाज आकाशमै होल्ड गरेर पाइलटले दुबईतिरै नियमित उडान गराएका थिए ।










