चितवन बैशाख ११,
चितवन क्षेत्र नम्बर २ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमवार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ ।
आइतवार राति मतपेटिका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । सोमवार बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
उनीद्वारा जारी सूचनामा सोमवार बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारका २ प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरूले भने आइतवार राति प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया शुरू हुने जनाइएको छ ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताए । यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार २७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो ।










