कास्की – कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ ।
नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेकी चितवनकी पवित्रा सापकोटा हिमाल देख्न नपाएको गुनासो गर्दै हुनुहुन्थ्यो । रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उनको भनाइ थियो । “चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौं । त्योभन्दा राम्रो लाग्यो”, पवित्राले भन्नु, “तर, यहाँबाट हिमाल नजिकै देखिन्छ भन्ने सुनेका थियौँ । हुस्सुले गर्दा हिमालको दर्शन नै पाइएन । अलि खल्लो मससुस भयो ।”
घान्द्रुकका होटल व्यवसायी किसम गुरुङ पनि पाहुनालाई हिमाल देखाउँन नपाउँदा नरमाइलो लागेको बताउछन् । घान्द्रुकबाट हिमालको स्पर्श नजिकबाट लिन पाउनु यहाँको विशेषता भए पनि नयाँ वर्षयता घान्द्रुक पुगेका पर्यटक त्यसै फर्कनुपरेको उनले बताए । “घान्द्रुक सौन्दर्य र संस्कृतिमा धनी छ । यसैका लागि धेरै पर्यटक यहाँ आउनुहुन्छ”, गुरुङले भने, “तर, नयाँ वर्षमा घुम्न आउनुहुने पाहुना हिमाल नहेरी फर्कनुभएको छ ।”
केही दिनदेखि लागेको कुहिरोका कारण घान्द्रुक पुग्ने पर्यटक कम भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । घान्द्रुकमा नयाँ वर्षको दिन दुई हजार एक सय पर्यटक पुगेको उनले बताए । अहिले त्यो सङ्ख्या घटेर दैनिक तीन सयमा झरेको छ ।










