– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत ३ –
विद्यार्थी संगठनहरुले लगाएको ताला फुटालेर चितवनमा स्ववियु निर्वाचन गराउन खोजेको चितवन प्रशासन दुई दिनमै आफ्नो निर्णयबाट पछाडि हटेको छ ।
ठूला राजनैतिक दलको तुलनामा साना मानिएका राजनैतिक दल निकटका विद्यार्थी संगठनहरुले लगाएको ताला गत फागुन ३० गते चितवन प्रहरीले फुटालेको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले केही कृयाशिल राजनैतिक दलको बैठकबाटै निर्णय गराएर तालाबन्दी सुरक्षा निकायको सहयोगमा फुटाउने र चुनाव जसरी पनि गराउने निर्णय गरेको थियो । नेपाल समाजवादी विद्यार्थी यूनियन, लोकतान्त्रिक विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनले विभिन्न माग राख्दै चितवनका १० वटा क्याम्पसमा लगाएको फुटालिएको थियो ।
स्ववियु चुनाव जसरी पनि गराउन सहयोग गर्ने फेरि कसैले तालाबन्दी गरे तत्काल फुटाउने र ताला लगाउनेलाई कारबाही पक्राउ गर्नेसम्मको चेतावनी प्रशासनले दिएको थियो ।
तर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनले २ गते लगाएको ताला प्रहरीले अझै फुटाल्न सकेको छैन । चितवनका केही क्याम्पसमा देखिएको विवाद समाधान गरी जिल्लाभर एकसाथ चुनावी प्रक्रिया अगाडि बढाउन माग राख्दै क्रान्तिकारीले त्रिविको आंगिक क्याम्पस वीरेन्द्रसहितका विभिन्न क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।
अन्य विद्यार्थी संगठनको ताला फुटाउने हिम्मत गर्ने चितवन प्रशासन अखिल क्रान्तिकारीसँग भने डराएको भन्दै निर्वाचन चाहने विद्यार्थीहरुले आवाज उठाउन थालेका छन् । सानालाई हेप्ने र ठूलालाई संरक्षण गर्ने परिपाटी चितवन प्रशासनले देखाएको छ ।
कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले आफूहरुले कुनै पनि क्याम्पसमा तालाबन्दी नगरेको र चुनाव चैत ५ गते गराउनुपर्छ भन्ने पक्षमा रहेको प्रतिक्रिया दिएका छन् । आफूहरुलाई चितवन प्रशासनले सानो सम्झेर नहेप्न र सबैलाई समान व्यवहार गर्न ३० गते अघि तालाबन्दी गरेका विद्यार्थी संगठनका नेताहरुले बताउँदै आएका छन् ।
अनेरास्ववियु भन्छ,– अखिल क्रान्तिकारी चिनवनमा पत्तासाफ हुने भएपछि तालाबन्दीमा उत्रियो
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु चितवन कमिटीका सह–संयोजक हरि आचार्यले चितवनमा रहेको २० क्याम्पसमध्ये माओवादीको अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा पनि जित्न नसक्ने भएपछि तालाबन्दी गरेर निर्वाचन रोकिएको आरोप लगाए । प्रचण्डको गृहजिल्ला र रेनु दाहाल प्रमुख रहेको महानगरमा अखिल क्रान्तिकारी पत्तासाफ हुने भएपछि चुनाव गराउन नखोजिएको उनको भनाइ छ । साना संगठनले लगाएको ताला फुटाउन आदेश दिने सिडिओ र कार्यान्वयन गर्ने एसपी अखिलक्रान्तिकारीसँग डराएर सानालाई ऐन र ठूलालाई चैन दिइरहेको आचार्यको भनाइ छ ।
नेविसंघ भन्छ,– सबैलाई समान व्यवहार गर
कांग्रेस निकट नेविसंघ चितवन कमिटीका अध्यक्ष राजेश भुषालले सबै संगठन स्वतन्त्र हुने र उनीहरुको आफ्नै मूल्यमान्यता हुने हुँदा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले सबै संगठनलाई समानरुपले हेर्नुपर्ने बताए । सत्ता र शक्तिको आडमा कसैको मुद्दालाई माथि राख्नु र कसैको मुद्दालाई तल पार्नु एकदमै गलत भएको उनको भनाइ छ ।
क्रान्तिकारी भन्छ,– अरु संगठनको कुरा नगर्नुस्,
माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विकास कोइरालासँग सम्पर्क हुन सकेन । अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष विनोद सुवेदीले अरु संगठनले लगाएको ताला फुटालेको प्रति आफूहरुको कुनै धारणा नरहेको बताए । उनले अहिले अरु संगठनको कुरा नसोध्न आग्रह गरे ।
प्रशासन भन्छ,– क्याम्पसले चाहे तत्काल ताला फुटाल्छौं
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीले अब फेरि ताला फुटाउनका लागि प्रशासनबाट कुनै आदेश नआएको बताए । उनले ३० गते साना संगठनले लगाएको ताला फुटाएपछि अब कसैलाई पनि ताला लगाउन नदिने र लगाए तत्काल फुटाइदिने बताएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख (सिडिओ) सुरेन्द्र पौडेलले क्याम्पस प्रशासनले भनेको अवस्थामा जतिबेला पनि ताला फुटाउने बताए । अघिल्लो पटक अधिकांश क्याम्पस प्रशासनले तालाका कारण चुनाव गराउन नसकिएकोे र यसलाई फुटाउन सहयोग गर्न भनि जिल्ला प्रशासनसँग आग्रह गरेकाले प्रहरी लगाएर फुटालिएको उनको प्रतिक्रिया छ ।
यसरी क्याम्पस प्रशासन, प्रहरी प्रशासन र चितवन प्रशासन तीन वटै निकाय सत्ता र पहुँचको इशारामा चलि कसैलाई काखा त कसैलाई पाखा गरिरहेको पुष्टि हुन्छ ।
तालाबन्दीले वीरेन्द्र र सप्तगण्डकीमा स्ववियु चुनाव रोकियो :
तालाबन्दीका कारण चैत ५ गते चुनाव सम्पन्न गराउन नसकिने भएकाले निर्वाचनको सम्पूर्ण प्रक्रिया अर्काे सूचना नआउनजेलसम्मलाई रोकिएको भन्दै वीरेन्द्र क्याम्पसले प्रेस विज्ञप्ति निकालेको छ ।
यसैगरी विद्यार्थी संगगठनबीच विवाद कायमै रहेकाले अहिलेको परिस्थितिमा चुनाव गराउन नसिकिने भन्दै सप्तगण्डकी क्याम्पसले पनि चुनावी प्रक्रिया स्थगित गरेको सूचना निकालेको छ ।
यसरी चितवन भरी नै स्ववियु चुनाव स्थगित हुने संकेत देखिएको छ ।