काठमाडौँ , १६ फागुन –
नेपाल प्रजातान्त्रिक फार्मेसी संघले सरकारी नीति विपरित फार्मेसी जनशक्ति नराख्न चेतावनी दिएको छ । संघका अध्यक्ष सुदिपराज सुवेदीले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको नीति विपरित हुने कार्यहरुको भत्र्सना गरेको हो ।
जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायहरुमा तोकिएको फार्मेसी जनशक्तिको दरबन्दी सन्दर्भमा देशका विभिन्न कार्यालयहरुमा मनोमानी ढंगले कार्यविधि विरुद्ध नियुक्ति दिईएको उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ “पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका सार्वजनिक निकायहरु, जहाँ फार्मेसी जनशक्तिको दरबन्दी रहेको तर कार्यालयले मन्त्रालयले तोके अनुरुप जिम्मेवारी नदिएको कार्य गरेको पाईएको छ ।” अन्य गैर फर्मासिस्टलाई कार्य गर्न दिएको पाईएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले यस्ता विवरण संघलाई जानकारी गराउन सूचित समेत गर्नुभएको छ । यस्ता समस्या देखिएको सूचना प्राप्ता हुनासाथ मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गरी समाधान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल सरकारका कतिपय निकायले फार्मेसी जनशक्ति चाहिने ठाउँमा अन्य सेवाका जनशक्ति मनोमानी ढंगले नियुक्ति दिंदै आएका छन् । यस्तो गतिविधिको संघले प्रतिवाद गर्दै आएको हो ।