काठमाडौँ- कार्तिक ०८
सन् २०१५ मा सांसद बनेका ऋषि सुनकले मंगलबार बेलायतको प्रधानमन्त्रीको कुर्सी सम्हाल्दैछन्। लिज ट्रसले गत बिहीबार राजीनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको दौड सुरु भएको थियो।
सेप्टेम्बर पहिलो साता सुनक उनै ट्रससँग कन्जरभेटिभ पार्टीको दलको नेता र प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा पछि परेका थिए।
यसपालि भने सुनक कसैसँग लड्नु परेन। प्रधानमन्त्री बन्ने दौडमा सहभागी हुन आवश्यक पर्ने कन्जरभेटिभ पार्टीका एक सय सांसदको सहमति जुटाउन सुनक सहजै सफल भएका छन्। उनीसँग प्रतिस्पर्धामा उत्रने भनिएकी पेन्नी मोर्डन्टले भने त्यस्तो सहमति जुटाउन सकिनन्। त्यसपछि सुनकको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।
४२ वर्षीय सुनकलाई बेलायतका राजा चार्ल्सले मंगलबार प्रधानमन्त्री नियुक्त गर्नेछन्। जसले बेलायतले दुई सय वर्षयताकै कान्छो प्रधानमन्त्री पाउनेछ। त्यति मात्र होइन, सुनक एसियाली मूलका पहिलो बेलायती प्रधानमन्त्री हुनेछन्।
बोरिस जोन्सनले जुलाई ७ मा राजीनामा दिएपछि ट्रस बेलायतको प्रधानमन्त्री बनेकी थिइन्। जोन्सन नेतृत्वको मन्त्रिपरिषद्मा सुनक अर्थमन्त्री थिए। सुनकले जिम्मेवारी त्यागेपछि जोन्सनको सरकार कमजोर बनेको थियो। अन्ततः जोन्सन राजीनामा दिन बाध्य भएका थिए।
अहिले पनि कन्जरभेटिभ पार्टीभित्र सुनकलाई जोन्सन सरकार ढल्नुको मुख्य कारण मान्ने नेताको संख्या ठूलो छ। सुनकसँग कन्जरभेटिभ पार्टीलाई आमनिर्वाचन जिताउन सक्ने क्षमता नरहेको उनीहरूको जिकिर छ। कन्जरभेटिभ पार्टीले सन् २०१९ मा जोन्सनको नेतृत्वमा निर्वाचनमा विजय हासिल गरेको थियो।
जोन्सन यस्तो बेला प्रधानमन्त्री बन्न लागेका छन्, जतिबेला बेलायतको अर्थतन्त्र ठिकठाक छैन। त्यहाँको मुद्रा पाउन्ड स्ट्रर्लिङको अवमूल्यन भइरहेको छ। त्यसैले बेलायतका धनी सांसदहरूको सूचीमा पर्ने सुनकका अगाडि निकै ठूला चुनौती छन्। जस्तै : आर्थिक समस्या हल गर्ने, बढ्दो महँगी नियन्त्रण गर्ने, रुस-युक्रेन युद्ध आदि।
सुनकका समर्थक बेलायतमा बल्ल सही नेता नेतृत्वमा पुग्न लागेको भनेर प्रशंसा गरिरहेका छन्। अन्तर्राष्ट्रिय तथा घरेलु लगानीकर्ताका बेलायती अर्थनीति र अर्थतन्त्रलाई लिएर डराइरहेको अवस्थामा सुनकको आगमन सुखद रहेको उनका समर्थकको दाबी छ।
बेलायती संसद्मा प्रमुख विपक्षी रहेको लेबर पार्टीले सुनक धनाढ्य समुदायको प्रतिनिधि भएको र आमबेलायती नागरिकको मतलब उनलाई नभएको भनेर प्रचार गर्ने सम्भावना छ। अधिकांश बेलायती ऊर्जा र खाद्य संकटसामु पुगेको र उनीहरूलाई तिनबाट बाहिर निकाल्न सुनकसँग कुनै योजना नरहेको भनेर प्रचार गर्न लेबर पार्टी तम्तयार भएर बसेको बताइँदैछ।
उसो त कन्जरभेटिभ पार्टीभित्रै पनि सुनकलाई लिएर विभाजनको स्थिति छ। सुनकलाई मन नपराउने सांसदको संख्या निकै रहेको र तिनलाई उनले आफ्नो पक्षमा कसरी ल्याउन सक्छन्, यो आजको मुख्य प्रश्न हो। यसो किन पनि भनिएको हो भने कन्जरभेटिभ पार्टीको दलको नेता चुन्न सेप्टेम्बर ५ मा भएको मतदानमा ट्रसले ५७ प्रतिशत मत पाएकी छन्।
सुनकले भने बेलायतको अर्थतन्त्रलाई सही दिशामा लाने, पार्टीलाई एकबद्ध बनाउने र नागरिकको अपेक्षा गरेअनुसारको नतिजा दिने बताएका छन्। ‘सरकार र यसका सबै निकाय सही ढंगले चलून् भनेर म दिनरात चनाखो रहनेछु, खटिनेछु,’ आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दा सुनकले भनेका थिए।
सन् १९८० मा भारतीय मूलको हिन्दु परिवारमा जन्मिएका हुन् सुनक। उनको परिवार सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेको भनिएको छ। सुनकका बुवा यसभिर डाक्टर हुन् भने आमा उषा औषधीपसल चलाउँथिन्। यसभिर केन्यामा जन्मिएका थिए भने उषा तान्जिनियामा। सुनकका घरपट्टिका हजुरबा र हजुरआमा भने सन् १९४७ अघिको पञ्जाबबाट अफ्रिका गएका थिए।
सुनकले बेलायतकै महँगोमध्येको एक विद्यालयमा पढेका थिए। विश्वविद्यालयस्तरको पढाइ भने उनले अक्सफोर्डबाट पूरा गरेका हुन्। त्यहाँ उनले राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्र अध्ययन गरेको बताइएको छ। ट्रस र अर्का पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन पनि अक्सफोर्डकै विद्यार्थी हुन्।
सुनकले आफ्नो निर्वाचन प्रचारप्रसारमा ‘विश्वस्तरीय शिक्षा सबै बेलायतीका लागि जन्मसिद्ध अधिकार हो’ भन्दै आएका छन्। ‘ग्रामर स्कुल’ को संख्या बढाउनुपर्नेमा उनको जोड छ। ‘ग्रामर स्कुल’ बेलायत सरकारले सञ्चालन गर्ने यस्ता माध्यमिक विद्यालय हुन् जहाँ ११ वर्ष पुगेका विद्यार्थीलाई कठिन प्रवेश परीक्षा लिएर भर्ना गरिन्छ।
सुनकमाथि अनेकौँ प्रश्न पनि उठेका छन्। भारतीय अर्बपति नारायण मूर्तिकी छोरी अक्षतासँग बिहे गरेका सुनक सामान्य बेलायती नागरिकसँग नजोडिएको नेता भएको आरोप छ। उनकी श्रीमती अक्षताले आफ्नो स्थायी ठेगाना बेलायतबाहिर रहेको फाइदा उठाउँदै बेलायतमा कर नतिरेको आरोप पनि छ। जुन उनले गत अप्रिलमा स्वीकार गरेकी थिइन्।
सुनककै पनि अमेरिकी ग्रिन कार्ड रहेका खुलेपछि खुबै आलोचना भएको थियो। पछि अक्षताले बेलायतमा कर तिर्ने गरी आफ्नो ‘स्टाटस’ परिवर्तन गरिन् भने सुकनले ग्रिनकार्ड त्यागे।
आमबेलायती नागरिक बढ्दो ग्यासको मूल्यबाट पिरोलिएका बेला सुनक डाउनिङ स्ट्रिट प्रवेश गर्दैछन्। डाउनिङ स्ट्रिट पुग्ने थोरै धनी नेतामध्येका एक सुनक र उनकी श्रीमती बेलायतका दुई सय पचास धनी व्यक्तिको सूचीमा छन्। यी दुईको संयुक्त सम्पत्ति ८० करोड पाउन्ड बराबरको रहेको बताइन्छ।
औपचारिक रूपमै प्रधानमन्त्रीको पद सम्हाल्न थालेपछि उनलाई मार्गारेट थ्याचर र बेन्जामिन डिज्राइलीसँग दाँजिनेछ। थ्याचर बेलायती इतिहासकै पहिलो महिला प्रधानमन्त्री थिइन् भने डिज्राइली यहुदी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति। ती दुई जस्तै सुनक पनि कठिन परिस्थितिमा प्रधानमन्त्री बन्न लागेका हुन्।
‘हो हामी कठिन मोडमा छौँ। अर्थतन्त्र बिग्रिएको छ। अब हामीले बेलायतलाई स्थिर बनाउनु छ। यो देशका सबैलाई एक ठाउँमा ल्याउनु मेरो पहिलो प्राथमिकता हो,’ सुनकले भनेका छन्।
सुनक सन् २०२० मा अर्थमन्त्री बनेका थिए। कोभिड-१९ महामारीका बेला उनले अर्थमन्त्रीका हैसियतले जे जे गरे, त्यसले उनलाई लोकप्रिय नेताका रूपमा स्थापित गरेको थियो। जोन्सन र उनी नेतृत्वको सरकार लगातार विवादमा परिरहेपछि भने सुनकले गत जुलाईमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
जोन्सनको सरकार ढालेको आरोप खेपिरहेका सुनकले अब लेबर पार्टीको दबाब पनि खेप्नुपर्नेछ। विभिन्न सर्वेक्षणले पछिल्ला दिनमा लेबर पार्टीको लोकप्रियता बढेको देखाएका छन्। यस्तोमा लेबरले आमनिर्वाचनको माग गरिरहेको छ।
सुनकले प्रधानमन्त्रीका रूपमा ल्याउने आर्थिक नीतिका कारण ताजा जनादेशमा जानुपर्ने माग झनै कडा हुने अनुमान छ। सुनकले सरकारको खर्च कटौती गर्ने आर्थिक नीति ल्याउने बताइएको छ। उता मोर्डन्टले भने सुनकलाई समर्थन गर्न पार्टी समर्थकलाई आह्वान गरेकी छन्।










