चितवन, भदौं ८ –
वन तथा वातावरण मन्त्री प्रदीप यादवले चितवन राष्ट्रिय निकुञ्जका कारण रोकिएका समस्या चुनाव अगावै समाधान गर्ने बताएका छन् ।
आज माडीमा सडक स्तरोन्नतीको शिलान्यास र पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउँदै उनले १५ दिनभित्र रोकिएका कम सुरु गराउने बताए । यस्तै उनले माडीबासी र निकुञ्ज प्रशासनबीचको द्धन्द मात्रै होइन जनावसँगको द्धन्द पनि निर्वाचन अघि समाप्त पार्ने दाबी गरेका छन् ।
वस्तीमा जनावर पस्न नपाउने गरी आधुनिक तरिकाले छेकबार लगाउने बताउँदै उनले सानातिना तारजालीले ठूला हात्ती छेक्न नसक्नेब बताए ।
उनले भने, ‘माडीमा इआइए गर्न बाँकी पुलको काम चार दिनभित्र गर्छु, अब कुनै अवरोध हुने छैन ।’
उनले सडकसँग जोडिएको मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालयका मन्त्रीलाई भने, ‘म अवरोध हटाउँदै जान्छु तपाई विकास गर्दै जानुहोस् ।’
आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न शिलान्यास र उद्घाटन कार्यक्रमका लागि मन्त्री यादव र भौतिक पूर्वाधार मन्त्रि मोहमद इश्तियाक राई माडी पुगेका हुन् ।