काठमाडौं, फागुन २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि ५० प्रतिशतनजिक मत पाएको छ । सार्वजनिक मतपरिणामअनुसार, रास्वपाले ४९.५८ प्रतिशत मत पाएको छ ।
निर्वाचन आयोगले दिउँसो २ः३८ बजेसम्म ३८ लाख ५१ हजार ९५९ मत गणना सम्पन्न गरेको छ । उक्त मतमध्ये रास्वपाले १९ लाख १२ हजार ९५९ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ लाख ५० हजार ९३८ मत पाएको छ । एमाले कांग्रेसभन्दा झन्डै एक लाख बढी मतसहित पछाडि छ । उसले चार लाख ४७ हजार ९५१ मत पाएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी नेकपाले दुई लाख ५९ हजार ८०९ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक लाख ३९ हजारभन्दा बढी मत पाएको छ ।
८३ हजार ४२७ मतसहित पाँचौ स्थानमा रहेको श्रम संस्कृति पार्टी भने अहिलेसम्मको मत परिणामले तीन प्रतिशत थ्रेसहोल्डमा पर्ने अवस्था देखिएको छैन । उसले प्राप्त गरेको मत २.१७ प्रतिशत मात्र छ । कानुनअनुसार, समानुपातिकतर्फ प्रतिनिधित्व पाउन कम्तीमा तीन प्रतिशत मत अनिवार्य छ ।








