रत्ननगर, भदौ ३-
रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र सङ्घका अध्यक्ष शङ्कर गिरीले संयूक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् ।
सङ्घका अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासको लागि सकारात्मक सन्देश प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय परिसर भित्र गैँडाको मूर्ति निर्माण गरिएको बताए।
चितवन जिल्लाको पहिचानको रुपमा स्थापित एकसिँगे गैँडाको मूर्ति प्रशासन कार्यालयमा राख्दा जिल्ला प्रतिको माया जागृति हुनुको साथै यसले सफारी पर्यटनको विकासमा टेवा पुग्ने उनले बताए ।
अध्यक्ष गिरी सङ्घले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्वको कामहरूलाई समेत अगाडि बढाएको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको एकसिँगे गैँडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउने बताए । रत्ननगर उद्योग वाणिज्य सङ्घले गरेको उक्त कामको प्रशंसा गर्दै प्रजिअ पौडेलले निजी क्षेत्रले एउटा उदाहरणीय कामको सुरुवात गरेको बताए ।