वासिङ्टन, कात्तिक २९-
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् ।
स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्पले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोडेका थिए ।
बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गरेका छन् ।
ट्रम्पको यो भ्रमण उनलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्न हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उनले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता सुरु भएको थियो ।
ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भने, “स्वागत छ ।”
गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका ८१ वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिएका थिए । तर, भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेरेका थिए भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियालेका थिए ।
बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद् भवनमा उनका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाएका थिए । रासस/एएफपी