चितवन, २७ कात्तिक
देवघाटमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार त्रिशुली र कालीगण्डकी नदीको सङ्गम पवित्र तीर्थस्थल देवघाटमा स्नान एवं तुलसीको विशेष पूजा गर्न र नदीमा तोरण तार्नका लागि भक्तजनको भिड लागेको हो ।
आज काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । ती चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबाेधिनी एकादशी पनि भनिन्छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइन्छ ।
तस्बिरहरु :