काठमाडौं असोज १०
देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
विभागले राति देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने बताएको छ । कोसी, वाग्मती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम छ । “भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन प्रभावित हुनसक्छ,” विभागले भनेको छ, “कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको रहेको विभागले यसअघि नै बताइसकेको छ । जसका कारण भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।










