पोखरा, ७ असोज
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए ।
उनलाई आइतबार नै पोखरा ल्याइएको थियो । स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ ।
प्रहरीले १० दिनको समय माग गरेता पनि अदालतले भने पाँच दिन मात्रै समय थपेको हो ।
संसदीय समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा जोशीलाई पनि कारबाही सिफारिस गरेको थियो । विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ । सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् ।







