मकवानपुर, २७ फागुन
मकवानपुरको रातोमाटेबाट ५ लाख रुपैयाँ बढी भारतीय रकमसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको विआर ०१ एआर २९९१ नम्बरको भारतिय कारलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट सो परिमाणको भारतीय रकम फेला परेको हो ।
पक्राउ पर्नेहरुमा कार चालक भारत बिहार सितामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० को राकेशकुमार, कारमा सवार सोही स्थान बस्ने वर्ष ३० को चन्द्र बाबु, वर्ष ३७ को अशोक राय, नेपालको सुनसरी कोशी गाउँपालिका वडा नम्बर–४ बस्ने वर्ष ३२ को निजाम मिया रहेका छन् ।
उनीहरुको साथबाट ५०० को भारतीय नोट १ हजार ४२ थान (५,२१,०००।–), २०० को नोट ९३ थान (१८,६००।–), १०० को नोट ९३ थान (९३००।–) र ५० को नोट ४ थान (२००।-) गरी कुल ५ लाख ४९ हजार १०० रुपैयाँ फेला परेको हो । उनीहरुको साथबाट नेपाली रुपैयाँ एक हजारका नोट १५० थान, ५०० को नोट २०० थान गरी २ लाख ५० हजार रुपैयाँ फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार सो रकमसहित भारतीय नागरिकहरु रक्सौल नाकाबाट वीरगञ्ज हुँदै आएको र नेपाली नागरिक मिया सुनसरीबाट महोत्तरी हुँदै पथलैयाबाट सो कारमा चढेको खुल्न आएको छ । पक्राउ परेका ४ जनासहित कारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको छ ।
प्रहरीले पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरिएको छ । भारतीयहरु नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँभन्दा बढी नगद ल्याउन नपाउने कानुनी व्यवस्था रहेको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













