चितवन, फागुन ९ –
बालकुमारी घटनाबारे जाँचबुझ आयोगले निकालेको प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाही गर्न अनेरास्वियुले माग गरेको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीको सर्कुलर अनुसार आज अनेरास्ववियु चितवनले जिल्ला प्रशासन अगाडि दबाब कार्यक्रम गरेको हो ।
बालकुमारी घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर, बालकुमारी घटनाका दोषिलाई कारबाही गर, ज्यान मार्ने मन्त्रिलाई कारबाही गर, ज्यान मार्ने मन्त्रि राजीनामा दे, ज्यान मार्ने मन्त्रिलाई बर्खास्त गर लगायतका नारा लगाउँदै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुत्ला समेत जलाएका थिए ।
पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा कोरियाली भाषा परीक्षा फारम भर्ने विषयलाई लिएर विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो । अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । उक्त घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गर्दा दुई जना युवाको मृत्यु हुन पुगेको बताइएको छ ।
घटनापछि सरकारले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो । उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले ४४ दिनमा प्रतिवेदन बुझाएको थियो । तर सरकारले उक्त छानविन प्रतिवेदन अझैसम्म सार्वजनिक गरेको छैन भने दोषिको पहिचान गरी कारबाही समेत गर्न सकेको छैन ।
बालकुमारीमा प्रदर्शन भइरहेका बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि प्रदर्शनले उग्र रुप लिएको थियो । प्रदर्शनकारीहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी समेत गरेका थिए । प्रदर्शनलाई उग्र बनाएर दुई युवाको ज्यान लिनुमा मन्त्री ज्वाला मुख्य दोषि रहेको भन्दै उनलाई कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।
प्रतिवेदनले मन्त्रीलाई नै दोषि देखाएकाले सरकारले जाँचबुझ प्रतिवेदन लुकाएर राखेको भन्दै सरकारको पनि यतिखेर विरोध भइरहेको हो ।