भरतपुर, ९ फागुन
भरतपुर वडा वडा नम्बर-१० र चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल बीच वडावासीलाई स्वास्थ्य उपचारमा छुट दिने सहमति भएको छ । दुई पक्षबीच उपचारमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्रमा चितवन मेडकल कलेजका व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन् । त्यस्तै साक्षीमा वडा सदस्य रेशम राज थापा र सिएमसीमा कार्यरत अमृत काफ्लेले हस्ताक्षर गरेका छन् । सो सम्झौता २०८० फागुन १ गतेदेखि २०८४ चैत मसान्तसम्म लागु हुने उल्लेख छ ।
चितवन मेडिकल कलेजसँग सम्झौता भएसँगै वडावासीले उपाचारमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट पाउने छन् । सिटिइभिटी अन्तर्गतको रोयल क्यान्सर इन्स्टिच्युटको पढाइमा वडाका विद्यार्थीले वडाको सिफारिसमा १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।
यसैगरी वडाले वडा कार्यालयमा सर्वसाधारणले देख्ने गरी ‘मेडिकल पार्टनर चितवन मेडिकल कलेज’ लेखिएका बोर्ड राख्नुपर्ने छ ।
छुट सम्बन्धि सेवा सुविधा पाउनका लागि वडा नम्बर १० को कार्यालयले वडावासीलाई सहुलियत कार्डको व्यवस्था गरीदिने वडा सदस्य रेशम राज थापाले जानकारी दिए । उनका अनुसार कार्ड नबनुन्जेल कार्यालयले मतदाता परिचय पत्र, नागरिकता र बसाइसराइ पत्रको आधारमा सिफारिस गरिदिनेछ । सदस्य थापाले वडावासीको उपचारमा छुट दिएकोमा चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालप्रति आभार व्यक्त गरे ।