काठमाडाैं फागुन ३,
आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने दुई देशबीचको खेल बिहान सवा ९ बजेबाट शुरू हुनेछ ।
घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलामा नेपाल जितसहित सुखद् शुरूआत गर्ने लक्ष्यमा छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले लिग–२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताएका छन् ।
२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रियाअन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।
शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।