काठमाडाैं फागुन २,
पाकिस्तान मुस्लिम लिग (पीएमएल-एन) का नवाज शरिफले आफ्ना कान्छा भाइ मोहम्मद शहबाज शरीफलाई नयाँ प्रधानमन्त्री बनाउने तयारी गरेको छ ।
पीएमएलको नेतृत्वमा ६ दलीय गठबन्धन सरकार बनाउने तयारी भइरहेको पीएमएल–एनका तर्फबाट पार्टीका सूचना इन्चार्ज मरियम औरंगजेबलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । शाहबाज सरिफ सन् २०२२ देखि २३ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए ।
समाचारमा जनाइएअनुसार गठबन्धनबाट शहबाजलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको हो । यस्तै, पञ्जाबको मुख्यमन्त्रीमा नवाजले आफ्नी छोरी मरियम नवाजलाई बनाउने प्रस्ताव गरेका छन् ।
पीएमएललाई बिलावल भुट्टोको नेतृत्वको पाकिस्तान पिपल्स पार्टी पार्लियामेटरियन्स (पीपीपी), मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तान(एमक्यूएम-पी), पाकिस्तान मुस्लिम लिग (पीएमएल-क्यू), इस्तेकाम-इ-पाकिस्तान पार्टी (इपीपी) र बलोचिस्तान अवामी पार्टी (बीएपी)ले समर्थन गरेको छ ।
प्रत्यक्ष निर्वाचनतर्फबाट ६ दलीय गठबन्धनबाट कुल १५२ सिट जितेको छ । ३३६ सदस्य रहने राष्ट्रिय सभामा सरकार बनाउन १६९ सिट चाहिन्छ । पाकिस्तानमा कुनै पनि दलले बहुमत पाउन सकेको छैन ।
जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-इ-इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र निर्वाचित सदस्यहरूले मजलिस-इ-वाहदतुल मिलिमिन (एमडब्ल्यूएम) मा प्रवेश गरेका छन् । एमडब्ल्यूएमले एउटामात्रै सिट जितेको छ ।