भरतपुर, २४ माघ
रत्ननगर नगरपालिकाले खुलाएको स्वयंसेवक शिक्षकको सूचिकरणमा एमाले निकट अनेरास्ववियु चितवनले गम्भीर आपत्ति जनाएको छ । आज बुधबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले नगरपालिका राजनीतिक भर्ति केन्द्र बन्न खोजेको आरोप लगाएको छ ।
स्वयंसेवक शिक्षक सूचिकरणको लागि पुस ३ गते सूचना प्रकाशित गरेर आवश्यक संख्या ‘केही’ राखिएकोमा अनेरास्ववियुले संख्या स्पष्ट खुलाउनु पर्ने भन्दै सो सूचनाको विरोध गरेको थियो । तर, सो सूचना तत्काललाई स्थगित भए पनि गत माघ १६ गते स्वयंसेवक शिक्षक सूचिकरणको लागि परीक्षा सञ्चालनको सूचना सार्वजनिक गरिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियु चितवनका कार्यवाहक अध्यक्ष सरोज तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्रुटी नसच्याई स्वयंसेवक शिक्षक सूचिकरणको लागि परीक्षा सञ्चालन सूचना प्रकाशित हुँदा नगर शिक्षा अधिकारीको कार्यक्षमता र कार्यकुशलतमाथि नै प्रश्न चिन्ह खडा भएको छ । पटकपटकको ध्यानाकर्षणपछि पनि नगर शिक्षा अधिकारीबाट भएको नियोजित गैरजिम्मेवारीपनको अनेरास्ववियु जिल्ला कमिटी चितवन खेद प्रकट गर्छ । राजनीतिक अभिष्ट पूरा गर्न राजनीतिक आस्थाको आधारमा कार्यकर्ता भर्ती केन्द्र बनाउने दुस्साहस तथा दुश्प्रयास नगर्न र प्रष्ट निष्पक्षरुपमा संख्या खुलाएर मात्र पक्रियामा जान पनि अनुरोध गर्दछौं ।”
रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारीको कार्यक्षमता र कार्यकुशलतमाथि नै अनेरास्ववियुले प्रश्न चिन्ह खडा गरेको छ । नगरपालिकाद्वारा निकालिएको शिक्षकको सूचिकरण तत्काल सच्याउन अनेरास्ववियु चितवनले माग गरेको छ । नगरपालिकाले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :-