ढाका, १७ पुस
बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगलादेशको श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो ।
युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानुन उल्लङ्घन गरेको आरोप प्रमाणित भएको बताइन् ।
न्यायाधीशले युनुससहित अरू ३ जनालाई ग्रामीण टेलिकम कामका क्रममा कानुन उल्लङ्घन गरेको अभियोगमा ६ महिनाको साधारण जेल सजाय भोग्नुपर्ने छ । फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए ।
न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने बताए । फैसला लगत्तै युनुस र अन्य तीन जनाले जमानतका लागि निवेदन दिएका थिए । न्यायाधीशले उनलाई ५ हजार रुपैयाँ धरौटीमा एक महिनाको जमानतमा अनुमति पनि दिएका छन् ।
कानुनअनुसार युनुस र अन्य तीन जनाले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए । एजेन्सी