हैदरावाद । दक्षिण भारतीय अभिनेता प्रभासको नयाँ फिल्म सालारले फिल्म हलहरूमा धमाल मच्चाइरहेको छ । प्रभास भारतीय फिल्म उद्योगको सबैभन्दा ठुलो सुपर स्टारमध्ये एक बनेका छन् । बाहुबली २ यता राम्रो फिल्म दिन नसकेका प्रभासले सालारको शानदार कमब्याक गरेका छन् ।
यो फिल्मले एकपछि अर्को गर्दै रेकर्ड पनि तोडिरहेको छ । क्रिटिक्सहरुबाट फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ भने दर्शकहरूले पनि खुलेर तारिफ गरिरहेका छन् । पहिलो दिनदेखि नै फिल्मले तुफानी कमाइ शुरु गरेको थियो ।
यो यस वर्षको सबैभन्दा ठुलो वर्ल्डवाइड कलेक्सन गर्ने फिल्म बनेको छ । यो हप्तामा फिल्मको कमाई तीव्र गतिमा अगाडि बढिरहेको छ । विश्वभर फिल्मको कमाई ५०० करोड भारु पुगिसकेको छ । यति ठुलो रकम फिल्मले जम्मा ६ दिनमा कमाएर देखाइदिएको छ ।
सैकनिल्कका अनुसार सालारले बुधवार भारतीय बक्स अफिसमा मात्रै १८ करोड भारुभन्दा धेरैको कलेक्सन गरेको छ । ६ दिनमा घरेलु बक्स अफिसमा फिल्मको कलेक्सन २९९ करोड भारु पुगेको छ । बिहीबार फिल्म ५०० करोड क्लबमा पुगेको छ ।