मनहरी (मकवानपुर) ५ मङ्सिर  : 
मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा ईन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए । घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा आज मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न ईन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो । रासस
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













