काठमाडौँ, ५ मङ्सिर
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन् ।
बीबीसीले मंगलबार सूची जारी गर्दै ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्साना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको स्पष्ट पारेको छ ।
एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्शना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् ।
ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो । सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।