चितवन, भदौं ६ –
नारायणी पुलबाट बुटवलका औषधी व्यवसायी गंगा ढकाल सम्पर्कबिहिन भएका छन् । बुटबलबाट घर छाडेर हिडेका व्यवसायी ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका हुन् ।
मोबाइल र घडी समेत घरमा छाडेर चितवन आएका ढकाल सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए । शनिबार राति चितवनमा आएर नारायणगढको होटलमा बसेका ढकाल आइतबार साँझ नारायणी पुलबाट बेपत्ता भएका छन् । उनले चितवनबाट आइतबार कुरियर गरेर कपडासहित ‘अब मलाई नखोज्नु’ भनी सन्देश घरमा पठाएका छन् ।
आइतबार साँझ ७ बजेपछि नारायणी पुलको सीसीटीभी फुटेजमा देखिएका ढकाल पुलबाट कहाँ गए केही पत्तो नभएको नारायणगढ वडा प्रहरी कार्यालय र गैँडाकोट प्रहरीले जनाएको छ ।
नारायणगढबाट पुल हुँदै गैँडाकोटतिर लागेका उनी गैँडाकोटतिर पुगेको कुनै प्रमाण नभेटिएपछि पुलको बीचबाटै हराएका हुन् । ढकाललाई खोज्न चितवन आएका उनको परिवार वडा प्रहरी कार्यालय पुगेर सीसीटीभी फुटेज हेरेको तर पुलको बीचबाट कता गए भनेर पत्ता नलागेको प्रहरीले जनाएको छ ।