काठमाडाैं, साउन ११
कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेका छन् ।
उनलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराए ।
कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पतालको कम्प्लेक्स, इमर्जेन्सी वार्ड, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपीडीहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको एमसीटीसी क्षेत्रको अवलोकन गरे ।
त्यस अवसरमा अस्पतालका प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारीले अस्पतालका विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराए ।
कार्यबाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगत लगायतका सबै समस्याहरू समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए ।
त्यस अवसरमा बलाध्यक्ष रथी सिताराम खड्का, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा. अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिव लगायत अस्पतालका विभिन्न विभागका प्रमुखहरूको उपस्थिति थियो ।






