काठमाडौं जेठ २३,
भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा एक व्यक्तिले आफ्ना छोरालाई मुर्दाघरमा जिवितै फेला पारेका छन् ।
आफ्नो छोराको मृत्यु भएको विश्वास नलागेर कोलकाताबाट २३० किलोमिटर यात्रा गरी एम्बुलेन्समा ओडिशाको बालासोर पुगेका व्यक्तिले आफ्नो छोरा जिवितै फेला पारेका हुन् ।
हेलाराम मलिकले आफ्ना २४ वर्षका छोरा विश्वजित मलिकलाई बहनगा हाईस्कुलमा रहेको अस्थायी शव स्थलमा गम्भीर घाइते भएर चरम दुखाईको अवस्थामा रहेको स्थितिमा फेला पारेका हुन् । त्यसपछि उनले आफ्ना छोरालाई अस्पताल लगेर पुनर्जीवित गरी थप उपचारका लागि कोलकाता लगे ।
आइतबार एसएसकेएम अस्पतालको ट्रमा केयर युनिटमा शल्यक्रिया गरेका विश्वजितको हिजो अर्को चरणको शल्यक्रिया गरिएको बताइएको ।
गम्भीर घाइते भएपनि अहिले उनको अवस्था स्थिर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
उद्धार कार्यमा चिकित्सक भन्दा अन्य व्यक्ति भएकाले अचेत भएका र कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा रहेका व्यक्तिहरूलाई मरेको ठानेको हुनसक्ने भन्दै यो घटनामाथि टिप्पणी गरिएको छ ।