काठमाडाैं बैशाख ३१,
भारतमा आगामी वर्ष सन् २०२४ मा लोकसभा निर्वाचन हुँदैछ । पछिल्ला २ निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) चुनाव जित्दै नरेन्द्र मोदी प्रधानमन्त्री बनेका छन् ।
आगामी चुनावमा भाजपालाई हराएर भारतको केन्द्रीय सत्तामा पुग्न विपक्षी दलहरूलाई एकजुट गर्ने प्रयास भइरहेका छन्, जसको शीर्ष नेतृत्वमा भारतीय कांग्रेस रहँदै आएको छ ।
कांग्रेस नेता राहुल गान्धीलाई मानहानी मुद्दामा अदालतबाट सजाय भएर सांसद पद नै पुगेपछि बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेड (जदयु) नेता नीतीश कुमारले सक्रियता देखाएका थिए । अदालतबाट सजाय पाएका गान्धी सांसदमा उम्मेदवार हुन नपाइने चर्चा भएपछि हौसिएका नीतीशले विभिन्न विपक्षी दलका नेतालाई भेटेका पनि थिए । उनले २०२४ को चुनावमा विपक्षी खेमाबाट आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न चाहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसबीच उनले कांग्रेस अध्यक्ष मलिकार्जुन खड्गे, कांग्रेस नेता राहुल गान्धी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक र झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, एनसीपी नेता शरद पवार, महाराष्ट्रका पूर्व मुख्यमन्त्री उद्धव ठाकरे, कम्युनिस्ट पार्टीका नेता सीताराम यचरी र डी राजासँग भेटघाट गरिसकेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको छविका कारण भाजपाले लगातार चुनाव जितिरहेको बेला नीतीशले आफू अगाडि सर्न खोजेका थिए । मोदीलाई टक्कर दिने नेता नीतीश हुनसक्ने चर्चा चलिरहेको थियो ।
कर्नाटक विधानसभा चुनावमा जितेपछि कांग्रेसले अब अरु क्षेत्रीय दलको पिछलग्गु नहुने संकेत गरेको छ । कांग्रेसले आफ्नै नेताको नेतृत्वमा चुनाव लड्ने भएको छ । नीतीशको पार्टी क्षेत्रीय दल हो ।















