चितवन बैशाख ७
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन अन्तर्गत आज चितवनमा अन्तिम चुनावी सभा गर्दैछ ।
तीनवटै क्षेत्रका उम्मेदवारहरू सहभागी भएर चितवनमा दिउसो ३ बजे रास्वपाले चुनावी सभा गर्न लागेको हो । १० वैशाखमा चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ ।
आज मध्यरातिदेखि निर्वाचनको आचारसंहिता लाग्दैछ । यसैले सत्ता गठबन्धन र यो गठबन्धनविरुद्ध तीन ठाउँमा प्रभावशाली उम्मेदवार उठाएको रास्वापाले अन्तिम चुनावी सभा गर्न लागेको हो ।
चितवन २ का रास्वपा उम्मेदवार रवि लामिछानेले बिहीबारको सभा विशेष हुने दाबी गरेका छन् ।
‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्का तिर। यो वारपारको राजनितीक भिडन्त बारे आज हामी तीनै भाईले चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउनु छ’ लामिछानेले सामाजिक संजालमा लेखेका छन्, ‘आजको तपाईंको उपस्तिथिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न्। ३ बजे गेष्ट हाउस चौर।’
बारा २ मा रास्वपाबाट उम्मेदवार बनेका पूर्व डिआईजी रमेश खरेल र तनहुँ १ मा उम्मेदवार बनेका स्वर्णिम वाग्ले पनि यो चुनावी सभामा सहभागी हुने लामिछानेले प्रष्ट्याएका छन् ।
रविले कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसँग प्रतिस्पर्धा गर्दैछन् । नागरिकता प्रकरणमा रविको सांसद पद खारेज भएपछि उनी फेरि उठेका हुन् ।
तनहुँमा रास्वपाले अर्थविद् वाग्लेलाई उम्मेदवार बनाएको छ । उनीविरुद्ध कांग्रेसले गोविन्द भट्टराई र एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
बारामा खरेलविरुद्ध जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा र एमालेका पुरुषोत्तम पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।
सत्ता गठबन्धनले पनि आजै चितवन र बारामा शीर्ष नेताको उपस्थितिमा अन्तिम चुनावी सभा गर्दैछन् । बुधबार तनहुँमा गठबन्धनका शीर्ष नेता चुनावी सभामा सहभागी भएका थिए ।