काठमाडौं,६ बैशाख-
गर्मीको मौसममा चिसो पानी पिउन मन नपराउने को होला र । गर्मी हुने बितिकै चिसो फ्रिजको पानीले प्यास मेट्न हामी आतुर हुन्छौं । गर्मी मौसममा उच्च तापक्रममा चिसो पानी पिउनाले मानिसलाई गर्मीबाट राहत पनि मिल्छ । गर्मीमा हाइड्रेटेड रहन मानिसहरूले तरल पेयपदार्थको सेवन गर्छन् जसमा साधारण पानीसँगै लस्सी, जुस, नरिवलको पानीलगायत विभिन्न प्रकारका पेय पदार्थ सेवन गर्ने गर्छन् ।
विज्ञहरुका अनुसार हाइड्रेटेड रहन कम्तिमा ८ देखि १० गिलास पानी पिउनु निकै जरुरी हुन्छ । तर पानी पिउने क्रममा सही तापक्रम हुनु पनि आवश्यक हुन्छ । पानीको तापक्रमले स्वास्थ्यमा असर गर्छ। गर्मीमा मानिसहरु फ्रिजको पानी पिउने गर्छन् किनभने उनीहरु चिसो पानी पिउन चाहन्छन् ।
तिर्खा मेटाउन र थकानबाट छुटकारा पाउन मानिसहरु जुनसुकै बेला चिसो पानी पिउने गर्छन। यसले गर्मीबाट केही समय राहत दिए पनि स्वस्थ्यमा भने धेरै नोक्सान गर्ने गर्दछ। आयुर्वेदमा चिसो पानीलाई स्वास्थ्यका लागि हानिकारक मानिएको छ । खासगरी फ्रिजको चिसो पानी पिउनु हुँदैन । घामबाट आएपछि, व्यायाम गरिसकेपछि वा खाना खाएपछि चिसो पानी पिउनु हाम्रो शरिरका लागि बेफाइदा हो। यदि तपाइँ पनि गर्मीमा गलत समयमा र गलत तरिकाले चिसो पानी पिउनुहुन्छ भने तपाइँको स्वास्थ्यमा हुने हानि बारे जान्नुहोस्।
फ्रिजको चिसो पानी पिउनुका बेफाइदाहरुः
पाचनमा प्रभावः शरीरले कुनै पनि पदार्थलाई आफ्नो तापक्रममा ल्याउँछ र थप पाचनका लागि पठाउँछ। तर धेरै कम तापक्रम भएका चीजहरू खाँदा शरीरले आफ्नो तापक्रमअनुसार गर्न थाल्छ, जसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ । जसले गर्दा अपचको समस्या निम्त्याउँछ। पेटमा चिसो पानीले पाचन प्रणालीलाई असर गर्छ। अनुसन्धानका अनुसार चिसो पानीले रक्तनलीलाई खुम्चाउँछ। जसले पाचन सम्बन्धी समस्या निम्त्याउँछ।
दुखेको घाँटीः अक्सर, घाँटी दुखाइ वा आवाज परिवर्तन हुँदा चिसो पानी पिउनु हुँदैन । चिसो पानी पिउँदा घाँटी दुख्ने समस्या हुन्छ । फ्रिजबाट निकालेको चिसो पानी पिएपछि यस्तो समस्या हुनु सामान्य कुरा हो । अर्कोतर्फ, खाना खाएपछि चिसो पानी पिउने हो भने म्यूकस बन्न थाल्छ र श्वासप्रश्वासको बाटो अवरुद्ध हुन्छ । जसका कारण घाँटी दुख्ने, चिसो हुने, घाँटी सुन्निने जस्ता समस्या हुन सक्छन् ।
हृदय गतिमा प्रभावः चिसो पानी पिउँदा हाम्रो मुटुको धड्कन पनि कम हुने गर्दछ । एक अध्ययनका अनुसार फ्रिजको चिसो पानी बढी पिउनाले दशौं क्रेनियल नर्भ ९भ्यागस नर्भ० उत्तेजित हुन्छ । स्नायुहरूले शरीरको अनैच्छिक कार्यहरू नियन्त्रण गर्ने काम गर्दछ। कम तापक्रमको पानीको असर सीधै भ्यागस नर्भमा पर्छ, जसका कारण मुटुको धड्कन घट्छ।
टाउको दुख्ने समस्याः घामबाट आएको तुरुन्तै धेरै चिसो पानी वा बरफको पानी पिउनुभयो भने ब्रेन फ्रिज हुन सक्छ। चिसो पानीको सेवनले तपाईको मेरुदण्डका धेरै स्नायुहरूलाई चिसो पार्न सक्छ, जसले मस्तिष्कलाई असर गर्छ र टाउको दुख्ने गर्छ। यो अवस्थाले साइनस समस्याबाट पीडित व्यक्तिहरूको लागि समस्या बढाउन सक्छ।
वजन घटाउँन समस्याः तौल घटाउन चाहनेले चिसो पानी पिउनु हुँदैन । चिसो पानीको कारण शरीरमा रहेको बोसो जलाउन गाह्रो हुन्छ । फ्रिजको पानीले शरीरको बोसो कडा हुन्छ, जसका कारण बोसो घटाउन समस्या हुन्छ र तौल घट्दैन ।