काठमाडौं बैशाख ०४,
पोल्यान्ड र हंगेरीले आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न युक्रेनबाट खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । तर, युरोपेली संघ (ईयू)ले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको छ ।
रुसी आक्रमणले ‘ब्ल्याक सी’का केही बन्दरगाह अवरुद्ध भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमै बेचिन थालेको छ । युक्रेनी अन्न ईयूमा सबैभन्दा सस्तो छ । यसले बजार पाउँदा अरू देशका कृषि उत्पादनको बिक्री घटेको छ ।
यो विषयले पोल्यान्डको ग्रामीण क्षेत्रका मानिसलाई आक्रोशित बनाएको छ ।
“हामी युक्रेनबाट अन्न र अरू कृषि उत्पादनको आयातमा प्रतिबन्धको सम्बन्धमा पोल्यान्ड र हंगेरीको घोषणाबारे सचेत छौँ,” युरोपेली आयोगका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् ।
पोल्यान्ड सरकारका प्रवक्ता पिओटर मुलरले यस विषयमा ईयूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
पोल्यान्ड र हंगेरी न्यायिक स्वतन्त्रता, मिडिया स्वतन्त्रता अधिकारलगायत मुद्दामा ब्रसेल्ससँग लामो समयदेखि विवादमा छन् । यी दुवै मुलुकको ‘फन्डिङ’ पनि रोकिएको छ ।















