– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन २२ –
त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षको उम्मेद्वारमा स्वतन्त्र विद्यार्थी मञ्चले पुजा कँडेललाई उठाउने भएको छ ।
स्वतन्त्र विद्यार्थी मञ्चको एक भेलाले पौडेललाई अध्यक्षको उम्मेद्वार बनाउन सर्वसम्मत निर्णय गरेको हो । मञ्चले सचिवमा निहारिका गोतामे र कोषाधक्ष्यमा अनुपा ढकाललाई उम्मेद्वार बनाउने भएको छ ।
विद्यार्थीहरुमाझ आफ्नो प्रभुत्व जमाउन सफल नारी पुजा कँडेलले स्ववियु अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेसँगै मुख्य संगठनहरुले मिलेर जान आह्वान गरिरहेको मञ्चले चितवन आजलाई जानकारी दिएको छ । तर आफूहरु एक्लै लडेर स्ववियु चुनाव जित्ने कँडेलको दाबी छ ।
क्याम्पसमा २१ वटा संगठनहरुले आफ्नो नाम दर्ता गराएका छन् । अनेरास्ववियुले सुदिप प्रसाद पौडेलाई स्ववियु अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । अनेरास्ववियु बाहेक अन्य मुख्य संगठनहरुले स्ववियु सभापतिको नाम टुंगाइसकेका छैनन् । अर्को मुख्य संगठन नेविसंघबाट सुवास पौडेललाई उम्मेद्वार बनाउने चर्चा चलिरहेको छ । अखिल क्रान्तिकारीले पनि अझै कुनै निर्णय गरिसकेको छैन ।
विगतमा सबै विद्यार्थी संगठन र क्याम्पस प्रशासन समेत स्ववियु चुनावप्रति जिम्मेवार नदेखिँदा वीरेन्द्र क्याम्पसमा पटकपटक स्ववियु निर्वाचन रोकिएको तितो इतिहास छ ।
त्रिविको आंगिक क्याम्पस वीरेन्द्रमा चुनाव हुन नसके चितवनका अन्य क्याम्पसमा पनि नहुने संभावना रहने भएकाले सम्पूर्ण विद्यार्थी संगठन जिम्मेवार भएर शान्तपूर्ण तरिकाले चुनाव सफल पार्न लाग्नुपर्ने राजनैतिक विश्लेषकहरु बताउँछन् ।
चितवनका १८ वटा क्याम्पसमा संगठन दर्ता भइसकेको छ । २ वटा क्याम्पसमा २६ गते संगठन दर्ता हुनेछ । स्ववियु निर्वाचन त्रिवि अन्तर्गतका क्याम्पसमा चैत्र ५ गते देशभर एकसाथ गर्ने समयतालिका छ ।