नारायणगढ – नारायणी नदीकिनारमा जारी साङ्ग–विराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको ३० औँ दिन आज (शुक्रबार) सबा करोड दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलनका लागि आवश्यक तयारी सकिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले जानकारी दिए ।
आज शुक्रबार दिउँसो १२ बजेबाट पाँच सरे सबा करोड दीप प्रज्वलन गरिनेछ । दीप प्रज्वलन गर्न विभिन्न आमा समूहले नाम टिपाएका छन् । कोटिहोम महायज्ञका अध्येता एवम् राष्ट्रगुरू योगी नरहरिनाथलाई सम्झँदै कोटिहोम महायज्ञ गरिएको हो । महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरुद्वारा सबा करोड गायत्री मन्त्रद्वारा हवन, तर्पण एवम् मार्जन हुँदै आएको छ ।
महायज्ञमा बिहीबार वैष्णव परिषद्का केन्द्रीय अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिर धनगढीका पीठाधीश आबाल ब्रह्मचारी स्वामी १००८ देवराज आचार्यजी महाराजको आगमन भएको थियो । साथमा प्रसिद्ध कथा वाचक विष्णुप्रसाद ज्ञवाली, योगी खेचरनाथ र विश्व हिन्दु महासंघका अरूणकुमार पाण्डेले पनि महायज्ञको दर्शन एवम् अवलोकन गरेका छन् । फागुन १५ गते सकिने महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ ।