माधव सापकोटा
माघ २५,चितवन
लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सर्वाङ्गीण विकासार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ मा भक्तजनहरूको सहभागितामा वृद्धि भइरहेको छ ।
फागुन ६ गते शिवरात्रिसम्म चल्ने ११ करोड संकलन गर्ने लक्ष्य राखिएको सो महायज्ञ पाँचौँ दिनसम्म आइपुग्दा नगद र बोलकबोल गरी झण्डै १ करोड २० लाख रकम संकलन भएको र थुप्रै दाताहरूले आफुले बोलेको रकम वृद्धि गरिरहेको महायज्ञ सम्पादन मूल समितिका सह- कोषाध्यक्ष कुलनाथ कँडेलले जानकारी दिनुभयो।
आजको कार्यक्रमका प्रमुख अतिथि वैकुण्ठनाथ गुरुकुल भौतिक पूर्वाधार गुरुयोजना समितिका संयोजक बाबुराम खरेलले सनातन-धर्मसंस्कृति संरक्षणका लागि गुरुकुलहरू बचाउनुपर्ने कुरा उल्लेख गर्दै सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो।
विशिष्ट अतिथिका रूपमा लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल लगायतको उपस्थिति रहेको कार्यक्रम गुरुकुल सञ्चालक एवम् व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो।