चितवन, माघ ५-
चितवन महोत्सव स्थलमा गाडिएको प्लाष्टिक र मलमुत्रजन्य फोहोर तुरुन्त निकाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
चितवन महोत्सव सकिएकै दिन नारायणी नदी किनारस्थित चितवन महोत्सव स्थलमा गाडिएको फोहोर निकाल्न र फोहोर नफाल्न सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आदेश जारी गरेको हो ।
नारायणी नदीमा कुनै प्रकारको ढल मिसाउने कार्य नगर्न, डम्पिङ साइटमा बिसर्जन गर्ने फोहोर मैला नदी किनारमा बिसर्जन नगर्न, गर्न नदिन र उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सव गर्न नारायणी नदीको किनारमा गाडेको फोहोर अबिलम्ब निकाल्न लगाई नदी प्रदूषित हुने अन्य कुनै कार्य हुन नदिन अन्तरिम आदेश जारी गरेको हो।
नेपालको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वको पवित्र नारायणी नदी किनारमा महोत्सवका लागि पूर्वाधार तयार गर्न वा अन्य जुनसकै प्रयोजनका लागि फोहोर थुपार्न वा फोहोर थुपारी पुर्ने लगायतका कार्य गर्दा फोहोरबाट निस्कने हानिकारक रसायनयुक्त विषालु पदार्थले भूमिगत एवम् सतहको जलश्रोत प्रदूषित हुन गई त्यसबाट मानिस एवम् अन्य जीवजन्तुको जीवनमा गम्भीर संकट उत्पन्न हुनका साथै त्यस क्षेत्रको समग्र धार्मिक, सामाजिक तथा वातावरणीय स्थितिमा नकरात्मक असर पर्न जाने देखियो,’ आदेशमा भनिएको छ।
बेटर चितवन, वे ग्रूप, हाम्रो दृष्टी राम्रो दृष्टी, नेपाल डेभलपमेन्ट सोसाइटी लगायत चितवनका विभिन्न संस्थाहरूले उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाविरूद्ध अन्दोलन गर्दै ‘सेभ नारायणी’ अभियान सञ्चालन गरेका थिए।






