काठमाडौं, पुष २५-
नेपालमै पहिलोपटक नारायणी नदीमा बन्न लागेको ‘सिग्नेचर ब्रिज’ निर्माण गर्न दुई कम्पनीले प्रस्ताव पेस गरेका छन्।
सडक विभागअन्तर्गतको पुल महाशाखाले गत कात्तिक २ मा पहिलोपटक सिग्नेचर ब्रिज निर्माण गर्न ठेक्का आह्वान गर्दा कुनै पनि निर्माण कम्पनीले चासो देखाएका थिएनन्।
महाशाखाले पुनः मंसिर २० मा दोस्रोपल्ट आह्वान गरेको ठेक्का प्रक्रियामा भने दुई निर्माण कम्पनी अनक कन्स्ट्रक्सन र तुँदी कन्स्ट्रक्सन सहभागी भएका हुन्।
मंसिर २० मा जारी दोस्रोपटकको बोलपत्रको म्याद पुस ६ सम्म थियो। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर ९सिडिई० नरेन्द्रप्रसाद भट्टका अनुसार दुई कम्पनीको प्राविधिक र आर्थिक मूल्यांकन एकसाथ भइरहेको छ।
महाशाखाका अनुसार ठेक्का सम्झौता गर्ने तयारी भए पनि सिग्नेचर ब्रिज निर्माण लागत अनुमानसमेत गरिएको छैन। साथै, नारायणी नदीको कुन स्थानमा ब्रिज बनाउने भन्ने विषयमा समेत महाशाखा प्रष्ट हुन सकेको छैन। तै पनि, हाल सञ्चालनमा रहेको नारायणी नदी पुलभन्दा माथिल्लो भागमा सिग्नेचर ब्रिज बनाउने योजना महाशाखाको छ।
चार लेनमा विस्तार गर्न लागिएको राजमार्गमा दुई लेनको सिग्नेचर ब्रिज निर्माण हुने महाशाखाको भनाइ छ। महाशाखाका अर्का एक अधिकारीका अनुसार तत्काल दुई लेनको पुल बने पनि आवश्यक परेका बेला फेरि थप दुई लेनको नयाँ सिग्नेचर ब्रिज बनाउने योजना सरकारको छ।
पूर्वपश्चिम राजमार्गामा पर्ने नारायणी नदीमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ। हाल दुई लेनको राजमार्गलाई एसियन हाइवेका रूपमा विकास गरेर चार लेनमा स्तरोन्नति गर्ने योजना सरकारको छ।
नेपालमै पहिलोपटक बनाउन लागिएको सिग्नेचर ब्रिजले नारायणीको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटको समते पर्यटक आकर्षण थप बढाउने महाशाखाले जनाएको छ।






