चितवन, पुष २१-
वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा २०४० सालमा उच्चशिक्षा अध्ययनको आरम्भ गरेका मानविकी सङ्कायका तत्कालीन विद्यार्थीहरुले गुरुसम्मान कार्यक्रमको आयोजना गरेका छन् ।
पुसको १७ गते करिब ४० वर्षपछि पहिलो पटक पुनर्मिलन कार्यक्रमको आयोजना गरेर आफूहरूलाई भविष्यको बाटो देखाउने उपलब्ध गुरुहरूको माला र दोसल्लाका साथ सम्मान गरिएको थियो ।
सो अवसरमा सेवानिवृत्त जीवन बिताइरहेका गुरुहरूले विद्यार्थीका साथमा आफ्ना सहकर्मी साथीहरूबिच पनि भेटघाटको अवसर मिलेकोमा खुशी व्यक्त गरे ।
आफूले नचिने पनि कहीँ कतै भेटहुँदा विद्यार्थीहरूले गर्ने सम्बोधन र गुरु पूर्णिमाका दिन एउटा फोन मात्रैले पनि आफूले गरेको कर्मको सम्मान मिलेको अनुभूति हुनेगरेको अभिव्यक्ति गुरुहरुले गरेका थिए ।
कार्यक्रममा गुरुहरू विष्णुप्रसाद सापकोटा, भागवतशरण न्यौपाने, भीमराज अधिकारी, गणेशप्रसाद खराल, गायत्री श्रेष्ठ, हेमराज शर्मा, रामनाथ अधिकारी, मोहनसिंह राउत, देवीप्रसाद कँडेल, रामकृष्ण रेग्मी र वर्तमान क्याम्पस प्रमुख दयाराम पौडेलको उपस्थिति थियो । उक्त अवसरमा गुरुहरूले आफ्ना अध्यापनका प्रसङ्गदेखि जीवनका भोगाइसम्मका विषयलाई भावुकताका साथ प्रस्तुत गरेका थिए ।
गुरुसम्मान पछि गुरुहरूकै उपस्थितिमा कार्यक्रमका आयोजक तत्कालीन विद्यार्थीहरूले परिचयका साथ प्रवीणता प्रमाणपत्र तहपछिका अध्ययन, पारिवारिक अवस्था कार्यक्षेत्र अनुभव र अहिलेको बसाइका बारेमा जानकारी गराएका थिए ।
धेरैजसोको लामो अन्तरालपछिको भेट भएकाले फेरिएको अनुहार चिन्न र चिनाउन हम्मेहम्मे परेपनि भावुकता मिसिएको हार्दिकताको गजबको प्रदर्शन देखिन्थ्यो ।
पुराना फोटा हेरेर आफैंलाई चिन्न मुस्किल परेका अवस्था, दुख र अभावका बीचमा गरिएका शैक्षिक भ्रमण, पिकनिक लगायतका रमाइला क्षणका सम्झना, क्याम्पस प्राङ्गण र त्यो बेला पढेखेलेका कोठा-चोटाहरू साथीहरूसँगै हिँडडुल गर्दा शब्दले वर्णन गर्न नसकिने भावुकता छचल्किएको मित्रमिलन आयोजकहरूमा देखिन्थ्यो ।
सहपाठीहरू मध्येका जेष्ठ सदस्य विष्णुहरि तिमिल्सेनाको सभापतित्वमा भएको पुनर्मिलन तथा गुरुसम्मान कार्यक्रममा निर्मल सापकोटाले स्वागत मन्तव्य र सञ्चालन कृष्ण पुरीले गरेका थिए ।
कार्यक्रममा ५ जना महिलासहित ३३ जना सहपाठीहरूको सहभागिता थियो । त्यसैगरी वीरेन्द्र क्याम्पस अल्मुनाइ एसोसिएसनका अध्यक्ष बाबुराम घिमिरे र सचिव वामदेव घिमिरेको पनि उपस्थिति थियो ।
कार्यक्रम पछि पुनर्मिलनलाई निरन्तरता दिन विष्णुहरि तिमिल्सेनाको संयोजकत्वमा कृष्ण पुरी सचिव र निर्मल सापकोटा, हरिश्चन्द्र घिमिरे, रामनाथ घिमिरे, शिवप्रसाद अधिकारी, गीता पोख्रेल, शशी पिया, दयानिधि घिमिरे, उमानाथ सापकोटा र कृष्ण देवकोटा सदस्य रहेको एक समिति गठन भएको छ ।