चितवन, मंसिर २८–
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काभ्रे बस दुर्घटनामा परी मृत्यु भएका १८ जना मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै प्रचण्डले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत भएको भन्दै घाइतेहरुका शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत बनाएको छ । उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु’, उनले लेखेका छन् ।
दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् । त्यसैगरी कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न उनले आग्रह गरेका छन् ।






