चितवन, २५ कार्तिक-
सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाको आज नारायणी नदी किनारमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । कात्तिक २३ गते निधन हुनुभएका सापकोटाको आज अन्त्येष्टि गरिएको हो ।
गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटाको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टीको र प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्मा कँडेलले सेनानी सङ्घको झण्डा ओढाएर उहाँप्रति सम्मान व्यक्त गर्नुभएको थियो । उहाँको अन्त्येष्टिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको ठूलो सहभागिता रहेको थियो ।
सापकोटालाई उहाँका छोराहरु विश्वप्रकाश, केशवप्रकाश, चूडामणि, कृष्ण, नारायण, कुलराज र विजय सापकोटाले दागबत्ती दिनुभएको थियो । उहाँका दुई श्रीमती, सात छोरा र चार छोरी हुनुहुन्छ । छोराहरू देशबाहिर रहेकाले अन्त्येष्टि ढिलो गरिएको हो ।
राजनीतिक र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व सापकोटा दम रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिनुभएका सापकोटा नवलपरासीमा नेपाली काङ्ग्रेसका अग्रज नेताका रूपमा चिनिनुहुन्थ्यो । सापकोटाको निधनसँगै राससका वरिष्ठ सम्पादक कृष्ण सापकोटा पितृ शोकमा पर्नुभएको छ ।






