चितवन, असोज २८–
चितवनमा ठूलो मात्रामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना बारा जिल्लाका रहेका छन् । वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको कारमा लुकाएर ल्याइएको लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षिय सुनिल कुमार, १९ बर्षिय बिकास कुमार , ५० वर्षिय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नम्बर १९ की ३५ वर्षिया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट डाईजोपाम एक हजार एम्पुल, व्युप्रिनर्फिन एक हजार एम्पुल, फेनारगन एक हजार एम्पुल, खैरो हेरोईन ५२ ग्राम १४० मिलिग्राम बरामद गरेको छ ।
आज बिहान ११:१० बजे वीरगन्जबाट नारायणगढतर्फ आईरहेको भारतीय कारमा लागु औषध ओसारोपोसार भई भन्ने सूचना आधारमा प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले डिएल ७ सिएम १५७६ नम्बरको कार चेकजाँच गर्दा उक्त लागु औषध फेला परेको थियो ।








