चितवन, असोज १४ –
नवरात्रको छैठौं दिन भोलि भरतपुरमा वडा दशैं देवी दर्शन रथ यात्रा हुने भएको छ ।
भरतपुर वडा नम्बर ११, १०, २ र १ मा पर्ने ऐतिहासिक धार्मिक सात वटा शक्ति पिठमा परिक्रमा गर्ने गरी रथ यात्रा हुन लागेको हो ।
वडा दशैं देवी दर्शन रथ यात्रा व्यवस्थापन समितिको आयोजना तथा भरतपुर ११ का नौ वटा टोल विकास संस्था र सात वटा आमा समुह र चार वटा समुदायको सह आयोजनामा रथ यात्रा हुन लागेको हो ।
रथ यात्रा कार्यक्रमका संयोजक रविन्द्र बरालले श्री बगलामुखी देवी कैलाशेश्वर महादेव, श्री जखडीमाई देवी, श्री नवदुर्गा भवानी, श्री जलदेवी, श्री वागीश्वरी देवी, श्री मनकामना देवी, श्री चण्डेश्वरी देवी मन्दिरको परिक्रमा गर्ने गरी रथ यात्रा गर्न लागिएको बताए । रथ यात्रा भोलि बिहान ९ बजेबाट सुरु हुने छ ।
देवीको प्रतिक लिएर गरिने रथ यात्रामा पञ्चेबाजासहित विभिन्न समुदायको झाँकी प्रदर्शन गरिने बरालले जानकारी दिए । रथ यात्रामा सहभागी हुन सम्पूर्ण वडाबासी, भरतपुर बासीलाई बरालले आग्रह गरेका छन् ।
















