चितवन, साउन २८ –
खाना र खेतीपातीका विज्ञ डा कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र नम्बर २ उमेदवारी दिने घोषणा गरेका छन् ।
आज चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी विज्ञ पौडेलले चितवन क्षेत्र नम्बर २ बाट उमेदवारी दिने बताएका हुन् । उनी भरतपुर २ क्षेत्रपुरका बासिन्दा हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दिने निर्णय गरेको छु ।’ ६० वर्षका पौडेल ३० वर्षभन्दा बढी समय समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा काम गरेका छन् ।
उनी विगतमा नेकपा एमालेका विभिन्न समितिमा बसेका थिए । विज्ञ पौडेलले हाल खाना र खेतीपातीका लागि समुदायमा परामर्श गर्दै हिँडेका छन् । भरतपुरको क्षेत्रपुर घर भएका ६० वर्षका पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक र बेलायतको रिडिङ विश्विवद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनी विद्यार्थी जीवन २०३६ सालदेखि नै एमाले तथा तत्कालीन माले निकट भएर राजनीतिमा लागेका व्यक्ति हुन् । तर, पछिल्लो समय राजनीतिक गतिविधिमा भन्दा बढी विषादीरहित कृषि अभियानमा सक्रिय छन् ।
‘यो मुद्दा अब राजनीतिक प्रणालीभित्र आउनु पर्छ । किनकी विषादीको बढ्दो अनियन्त्रित प्रयोगले माटो र मान्छेको स्वास्थ्य घातकरूपमा बिग्रेको छ । यसलाई सुधार नै पर्ने भएको छ । यसका लागि राजनीतिकरूपमा हस्तक्षेप चाहिएको छ,’ पत्रकार सम्मेलनमा पौडेलले भने । सांसद बनेर नीति निर्माण तहमा यसबारे आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए । पार्टीले अन्याय गरेको अवस्थामा विद्रोह गर्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताए । तर, त्यस बारेमा अहिल्यै आफूले केही नसोचेको पनि उनको भनाइ । पार्टीमा लामो समयदेखि आबद्ध रहँदै आएको व्यक्तिले उठाएको जायज र नौलो मुद्दालाई नेतृत्वले नजरअन्दाज गर्दैन भन्ने विश्वास आफूलाई लागेको पौडेलले बताए ।















