मुकुन्द भुसाल
भरतपुर, २८ साउन –
जगन्नाथ थपलिया (जे एन) चितवनको राजनितिक बृत्तमा नयाँ नाम होइन । तर, चुनावमा उम्मेदवारीका हिसाबले उहाँ बिलकुल नयाँ पात्र हो । यस अघि कहिल्यै प्रतिस्पर्धी नबनेर बरु आफ्नै काधमा जिल्ला पार्टीको नेतृत्व रहदा समेत अरु नेताहरुलाइ अघि सारेर सघाइरहनुहुने उहाँ यसपटक नेकपा एमालेका तर्फबाट चितवन १ बाट संघिय संसदको उम्मेदवार बन्ने चर्चा चुलिएको छ ।
२०२८ सालमा किशोर अवस्थामा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर बिद्यार्थी राजनितिमा उदाउनुभएका थपलिया ३१/३२ सालमा आइपुग्दा पार्टी कोअर्डिनेशन केन्द्रमा आबद्ध हुन पुग्नुभयो ।
यस्तै, २०३६ सालमा मिनभवन क्याम्पस स्वबियु सभापती निर्वाचित हुनुभयो भने २०३९ सालमा पार्टी निकट बिद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव चयन हुनुभयो ।
थपलियाले २०४० सालदेखि ४४ साल सम्म ४ वर्ष राज मुद्धा खेपेर सेन्ट्रल जेलमा बिताउनुभयो । पटक पटक गरि ५ बर्ष जेल जीवन बिताउनुभएका उहाँ माओवादी आन्दोलनका दौरानमा धेरै पटक अपहरणमा मात्र पर्नु भएन, ज्यान मार्ने सम्मको धम्कीको सामना गर्नुभयो ।
राजनितीलाई कमाइको पेशा बनाइनु हुदैन भन्ने धारणा अबलम्बन गर्ने थपलियाले शिक्षण पेशा मार्फत आफ्नो घर व्यवहार चलाउदै निरन्तर सेवामुखी राजनितिमा सक्रिय भइ नै रहनुभयो । ब्यबस्थापन संकायमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएका उहाँ २०६५ देखि ६७ सालसम्म चितवन भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुख भएर समेत जिम्मेवारी निर्वाह गर्नुभयो ।
लामो समय चितवनको नेकपा एमाले जिल्ला कमिटिमा प्रभावशाली भुमिका खेल्दै आउनुभएका थपलिया २०७० देखि ७४ सम्म ४ बर्ष जिल्ला कमिटिको नेतृत्वमा रही पार्टीलाइ जिल्लामा पहिलो बनाउन सफल हुनुभयो ।
मुलुकमा भएका दुई ठुला आन्दोलनहरु जनआन्दोलन २०४६ र २०६२/०६३ मा नेतृत्वदायी भुमिका खेल्नुभएका उहाँमा २०७३ सालदेखी करिब ४ बर्ष बागमति प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख राजनितिक सल्लाहकार भएर काम गरेको अनुभव समेत रहेको छ ।
हाल उहाँ नेकपा एमालेको केन्द्रिय सदस्य एवं शिक्षा विभाग उप-प्रमुखको रुपमा पार्टीमा कृयाशिल हुनुहुन्छ । चितवनको माटोमा स्थापित सादगी कम्युनिष्ट नेता स्व. जागृत प्रसाद भेटवालको झल्को मेटाउने जे एन थपलियालाइ पुर्बी चितवनका जनताले ‘दोस्रो भेटवाल’ भनेर सम्बोधन गर्ने गर्छन् ।
मुकुकमा आउदो मङ्सिर ४ गते संघीय र प्रादेशिक गरि दुबै तहको निर्वाचन हुने भएपछि अब को को नेताहरु कुन कुन क्षेत्रबाट चुनाव लड्लान भन्ने बिषयले राजनितिक सरगर्मी बढाएको हो । यसबिचमा चितवनको माहोल फेरि एकपटक तरङ्गित हुदैछ ।
जम्मा ३ निर्वाचन क्षेत्र रहेको चितवनमा पुर्बी भु-भाग १ नम्बर, मध्य चितवन २ र माडी सहित पश्चिम चितवन ३ नम्बर क्षेत्रमा पर्दछ । एमालेको जनमत बलियो रहेको मानिने १ नम्बर चुनाब क्षेत्रमा पार्टीबाट कसले टिटक हात पार्ला त्यो हेर्न भने बाकी छ ।















