चितवन, साउन १४ –
भरतपुर अस्पतालमा उपचारका क्रममा तीन महिने बच्चाको मृत्यु भएको विषयमा छानबिन गर्न नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरिएको छ ।
भरतपुर महानगरपालिका–१५ का शोभा लम्साल र रामु लम्सालका तीनमहिने छोराको मृत्युु सम्बन्धमा छानबिन गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले काउन्सिललाई पत्राचार गरेको हो ।
भरतपुर अस्पतालका चिकित्सक र नर्सको लापरबाहीका कारण बच्चाको मृत्यु भएको आफन्तले विरोध जनाएपछि प्रशासनले काउन्सिलसमक्ष आग्रह गरेको हो । शुक्रबार अस्पताल र बिरामीपक्षबीच भएको छलफलले निष्कर्ष दिन नसकेपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले काउन्सिललाई पत्राचार गरेका हुन् ।
बच्चालाई लम्साल दम्पतिले बिहीबार बिहान ९ बजे भरतपुर अस्पताल लगेका थिए । बच्चालाई ११ बजे अस्पतालमा भर्ना गरियो । बच्चा वार्डमा उक्त सो बच्चाको साढे दुई बजेतिर मृत्यु भयो ।
बच्चा वार्डका चिकित्सक र नर्सले भर्ना भएको बिरामीको उपचारमा ध्यान नदिई जन्मदिन मनाउन व्यस्त भएपछि आफ्नो बच्चाको मृत्यु भएको बच्चाका बुबा रामु लम्सालले बताए । बच्चा मरिसकेपछि दूध सर्किएर मरेको भनी चिकित्सकले झूटो विवरण तयार पारेको उनले बताए । उनले लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् ।
उनले भने, ‘बच्चाको अवस्था एकदम नाजुक हुँदै गइरहेको थियो, मैले आत्तिदै चिकित्सकलाई हारगुहार गरे तर आउनुभएन । गम्भिर विरामी हुँदा पनि अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीले लापरवाही गरे । मेरो बच्चा छटपटाइरहेको थियो, तर आकस्मिक कक्षका चिकित्सक र नर्स जन्मदिनको केक काटेर रामाइरहेका थिए’ लम्सालले भने । बच्चाले दूध नखाएर अस्पताल ल्याएको उनले बताए ।
बच्चा मरिसकेपछि दूध सर्किएर मरेको भनी चिकित्सकले झूटो विवरण तयार पारेको बच्चाका बुवाले बताएका छन् ।
युगेस रामु र सोना दम्पतीका तेस्रो सन्तान हुन् । तीन सन्तानका बाबुआमाका साथमा पहिलो सन्तान मात्र छन् । दोस्रो सन्तान पनि आमाको दुध नचुस्ने समस्या भएकै कारण मृत्यु भएको थियो । ‘दोस्रो सन्तान त हामी आफैले समयमै उपचार गर्न नसकेका कारण मृत्यु भयो । तर तेस्रो सन्तानलाई अस्पतालले लापरवाही गरेका कारण ज्यान गयो’ उनले गुनासो गरे ।
बिहीबार बच्चाको मृत्यु भएपछि आफन्तहरुले चिकित्सक र नर्सलाई बच्चा वार्डमा नै करिब दुई घन्टा थुनिदिएका थिए । अहिले उनीहरुले बच्चाको शवको पोस्ट मार्टम पनि गर्न दिएका छैनन् । लापरबाही गर्नेलाई कारबाही नभएसम्म शव नउठाउने उनीहरुको भनाइ छ ।
अस्पतालका निमित्त मेसु डा. गोविन्द कँडेलले बच्चाको मृत्यु हुने बेलामा बच्चा वार्डका चिकित्सकको बिदाइ कार्यक्रम रहेको बताए । उनले सबै चिकित्सक र नर्स सोही कार्यक्रममा भुलेको भन्ने कुरा चिकित्सकहरुले स्वीकार नगरेको उनको भनाइ छ ।
बच्चा सिकिस्त भएपछि करिब १२ स्वास्थ्यकर्मी बच्चाको उपचारमा लागेको उनले बताएका छन् । बच्चाका आफन्त भने समयमै चिकित्सकले उपचार गरेको भए बच्चा बाँच्ने बताउँदै आएका छन् । बच्चा सिकिस्त अवस्थामा पुगेर ओठ निलो भइसकेपछि मात्र चिकित्सकहरु बच्चालाई हेर्न आएको परिवारको भनाइ छ ।
घटनाको आन्तरिकरुपमा छानबिन गर्न अस्पतालले पनि छुट्टै समिति गठन गरिसकेको छ । फिजिसियन डा. प्रमोद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको बताउँदै निमित्त मेसु कँडेलले सात दिनभित्र प्रतिवेदन पेश गरिने बताए ।