काठमाडौं ,असार २०-
अवैधरूपमा विदेशी मुद्रा सेटलमेन्ट गर्दै आएका एक जनाविरुद्ध राजश्व अनुसन्धान विभागले ८ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । विभागले पर्वतको कुश्मा घर भर्इ हाल काठमाडौंको सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा पौडेलले विदेशबाट अनौपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गर्दै नेपालमा विभिन्न व्यक्तिहरूलाई भुक्तानी दिएको भेटिएको छ । निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै विदेशी मुद्रा सेटलमेन्टको व्यवसाय अपनाएको देखिएको विभागले जनाएको छ ।
‘प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको छ,’ विभागले जारी गरेको विज्ञप्तीमा लेखिएको छ । तर, उनले विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र नै नलिएको देखिएको छ । सोहीकारण, उनले गरेको काम विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३,४ र ९ग विपरितको कसुर देखिएको विभागको भनाइ छ । – रासस








