काठमाडौँ चैत १०
कोलम्बियामा भएको सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।
कोलम्बियाली अधिकारीहरूले देशको दक्षिणी भागमा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन् ।
वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताए । विमान अमेरिकी निर्मित सी–१३० हर्कुलस थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।
बीबीसी हिन्दीका अनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटनाग्रस्त भएको हो । त्यहाँ पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।
रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिन हर्कुलस सी–१३० यातायात विमान सुरक्षा बलका सेनाहरू बोकेर प्यूर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुखद दुर्घटनामा परेको बताए । उनले पेरुभियन सीमा नजिकै भएको घटनालाई ‘देशको लागि धेरै दुखद दिन’ भनेका छन् । विमानमा आगलागीका कारण भित्र भण्डारण गरिएको गोला बारुद पनि विस्फोट भएको छ ।








