काठमाडौँ चैत १०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम बढ्दो क्रममा रहेको बताएको छ । देशका विभिन्न प्रमुख सहरहरूको तापक्रम पूर्वानुमान विवरण गर्दै महाशाखाले तापक्रम बढ्ने उल्लेख गरेको हो ।
विभागको तथ्याङ्क अनुसार संघीय राजधानी काठमाडौँमा आज दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस र रातीको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
आज भैरहवा देशकै सबैभन्दा गर्मी सहर हुने देखिएको छ, जहाँ अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्छ । यस्तै नेपालगञ्ज र सिमरामा पनि अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।
जोमसोममा आज सबैभन्दा बढी चिसो हुनेछ, जहाँ रातीको तापक्रम शून्यदेखि २ डिग्री सेल्सियससम्म झर्ने अनुमान छ । यस्तै जिरीमा ३–५ डिग्री र जुम्लामा ४–६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहनेछ ।









